काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२७ सम्म साउदी अरेबियन क्लब अल नासरमै रहने भएका छन्। उनले साउदी प्रो लिग क्लब अल–नासरसँग दुई वर्षका लागि सम्झौता थप गरेका हुन्।
वार्षिक तलब (१७८ करोड पाउन्ड) करिब २९ अर्ब नेपाली रुपैयाँका हिसाबले दुई वर्षमा उनको आम्दानी ५८ अर्ब हुनेछ । अल नासरसँग सम्झौता थप गरेपछि रोनाल्डोले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै ‘नयाँ यात्राको सुरुवात, उस्तै जोस, उस्तै सपना। आउनुहोस् हामीसँगै मिलेर इतिहास बनाऔँ’ लेखेका छन्।
४० वर्षीय रोनाल्डोको सम्झौता यही जुनमा समाप्त हुँदैछ। सम्झौताको मिति नजिकिँदै जाँदा रोनाल्डो अल नासरसँगको सम्झौता थप दुई वर्ष थप्न सहमत भएका हुन्। उनी सन् २०२३ मा म्यानचेस्टर युनाइटेड छाड्दै अल नासर पुगेका थिए। साउदी पुगेपछि रोनाल्डोले १११ खेलमा ९९ गोल गरिसकेका छन्।




