काठमाडौं । अमेरिकाले इरानको तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चिन्ता व्यक्त गरेका छन्।
इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीले पश्चिम एसियामा थप तनाव बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘म आज इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीप्रति गहिरो चिन्तित छु। यो कदमले उक्त क्षेत्रमा झनै तनाव बढाउन सक्छ, जुन पहिले नै अत्यन्त संवेदनशील अवस्थामा छ। र, यसले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा सीधा खतरा पुर्याउँछ,’ उनले भनेका छन् ।
गुटेरेस यो संघर्ष नियन्त्रणबाट बाहिर जाने सम्भावना बढ्दै गएको उल्लेख गरेका छन् । इरानमाथि अमेरिकी हमलाको असर विश्वमा गम्भीर रूपमा पर्न सक्ने उनले बताए । गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई परिस्थिति अझ बिग्रन नदिन आह्वान गरेका छन्। साथै यूएन चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्।
इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि जोडिएपछि विश्वकै राजनीति तरंगित बनेको छ । तीनवटा इरानी आणविक स्थलमा हमला गरेपछि ट्रम्पले इरानलाई यदि शान्ति सम्झौता नगरे अमेरिकाले थप आक्रमण गर्न सक्छ भनेका छन्।











