काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ मा पहिलोपटक १२ घण्टाका लागि प्राधिकरणले विद्युत निर्यात गरेको थियो । यस वर्ष असार १ देखि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको हो ।

गत वर्ष असोज १७ गते प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै कात्तिक १८ गते दिउँसो १२ः०० देखि राति १२ः०० बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो ।
ऊर्जामन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताए।

नेपालले हरेक वर्ष पाँच महिना वर्षाको समयमा बढी भएको बिजुली भारतलाई निर्यात गर्दै आएको छ । प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच गत वर्ष सम्झौता भएको थियो ।

ADVERTISEMENT

आजदेखि निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुने छ । पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए। विद्युत् बिक्रीबापत सरकारले पाँच महिनामा एक अर्ब २९ करोड आम्दानी गर्नेछ ।

ADVERTISEMENT

 

ADVERTISEMENT