काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौँलाई पार्टीको कब्जामा राख्ने गरी परिचलान हुन कार्यकर्तालाई निर्देशन दिएपछि यसप्रति व्यापक टीकाटिप्पणी भइरहेको छ । राजावादीले मात्र होइन, सर्वसाधारणले समेत ओली जेठ १५ गतेका दिन भाँडभैलो मच्चाउन उद्यत रहेको निष्कर्ष निकालेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले प्रधानमन्त्री ओलीलाई जेठ १५ गते काठमाडौँको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ। समितिले उनलाई ज्ञानेन्द्र शाहजस्तै सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको हो।
‘राजधानी (काठमाडौँ) कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ। त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि आत्मसमपर्ण गर्न पनि हामी सुझाव दिन चाहन्छौँ। राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजासरह एक्लै सो दिन आफ्ना सुरक्षाकर्मी र पालितपोषित समूहबिना एक्लै सडकमा हिँडेर देखाउन पनि चुनौती दिन चाहन्छौँ,’ समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीको निर्देशनलगत्तै एमाले जेठ १५ गते काठमाडौँ गर्ने कार्यक्रम सफल पार्न तयारीमा लागेको छ। एमालेले सोमबार जनसंगठन पदाधिकारीको बैठक राखेको छ। पार्टी कार्यालय च्यासलमा जारी एमाले महासचिव शंकर पोखरेलसहित तल्ला तहका पदाधिकारी पनि सहभागी छन्।
आइतबार बसेको सचिवालय बैठकले सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो। यसमा सहभागिताका लागि एमालेले जनसमुदायलाई आह्वान पनि गरेको छ।







