काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी क्षेत्रका तीन मुलुकको भ्रमण सकेर स्वदेश फर्केका छन् । चारदिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प गत मंगलरबार साउदी अरब पुगेका थिए । उनी शुक्रबार यूएईबाट अमेरिका प्रस्थान गरेका हुन् । यसबीचमा उनी कतार पनि पुगेका थिए ।

खाडीका धनाढ्य मुलुकमा रहँदा ट्रम्पले दशौँ खर्ब डलर (दशौँ निल नेपाली रुपैयाँ) बराबरका सम्झौतामा पनि हस्ताक्षर गरे । अमेरिकी व्यवसायिक प्रतिनिधिमण्डलको जम्बो टोली लिएर राष्ट्रपति ट्रम्प खाडी भ्रमणमा निस्केका थिए । उनको प्रतिनिधिमण्डलमा विश्वकै धनकुबेर इलोन मस्क, न्भिडिया कम्पनीका प्रमुख कार्यकारी जेसन हुवाङ, ब्लाकस्टोन समूहका स्टेफन स्वार्जमान, सिटीग्रुपका जेन फ्रेजरलगायत थिए ।

ADVERTISEMENT

समग्रमा व्यापारिक हिसाबले ट्रम्पको मध्यपूर्व भ्रमण सन्तोषजनक नै भएको जानकारहरु बताउँछन् । ‘पछिल्ला चार दिन निकै गजब भयो ।’ ट्रम्पले बिहीबार यूएईको दरबारमा भनेका थिए । घर फर्किने बेला शुक्रबार राष्ट्रपतीय विमान एअरफोर्स वानमा उनले भनेका थिए, ‘हाम्रो देशलाई देखाइएको सम्मान अविश्वसनीय थियो । कसैले त्यसो गरेको थिएन । कसैले त्यस्तो राम्रो गरेको थिएन ।’

उनका विपक्षीले पनि खाडी भ्रमणको प्रसंशा गरेका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा कनेक्टिकट राज्यको प्रतिनिधित्व गर्ने जेम हाइम्सले पनि ट्रम्पको प्रसंशा गरे । ट्रम्पले मध्यपूर्वसँग राम्रो व्यवहार गरेको उनको भनाइ छ । ‘डोनाल्ड ट्रम्पको प्रसंशा गर्ने मेरो बानी छैन ।’ उनले पोलिटिकोले आयोजना गरेको कार्यक्रममा भनेका थिए, ‘र, मैले भन्नुपर्छ, मेरो विचारमा राष्ट्रपतिले, पछिल्लो साता वा आसपास, मध्यपूर्वसँग राम्रो व्यवहार गर्नुभएको छ ।’

ADVERTISEMENT