काठमाडौं । सरकारले चाडपर्वलाई लक्ष्य गरी सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
चाडपर्वमा उपभोक्तलाई राहत दिनका लागि सहुलित पसल सञ्चालन गर्न लागेको हो । सहुलियत पसलमा सामानअनुसार ७० रुपैयाँसम्म छुट हुने भएको छ । छुट पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ५ देखि १० रुपैयाँ, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २ देखि ७ रुपैयँँ र दुग्ध विकास संस्थान (डीडीसी)ले ७० रुपैयाँसम्म छुट दिने जनाएको छ ।
खाद्य कम्पनीका सुचना अधिकृत माधव मिश्रले ‘सहुलियत पसल सोमबारदेखि ४५ जिल्लाका १ सय ११ ठाउँबाट सञ्चालन हुने जानकारी दिए । सर्वसाधारणले खाद्यको आउलेट र बिक्री केन्द्रबाट छुटका सामान किन्न सक्ने उहाँको भनाई छ ।
यस पटक भने १ सय ११ ठाउँका बिक्री केन्द्रबाट छुट दिने योजना बनाएको छ । आवश्यक परे थप जिल्ला र स्थानमा सञ्चालन गर्ने उसको भनाइ छ ।
साल्टले पनि १२ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल गरी ४० स्थानबाट छुट दिने निर्णय गरेको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ र चिउरामा ७ रुपैयाँ छुट दिइने साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।
पिठोमा प्रतिकिलो ७ रुपैयाँ, मैदामा ७ रुपैयँँ र दालमा ७ रुपैयाँ छुट दिइने उनको भनाइ छ ।







