काठमाडौं । चीनको राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा बुधबार सैन्य परेड आयोजना गरिएको छ ।
बुधबार बिहान डेढ घन्टासम्म चलेको सैन्य परेडमा विभिन्न २६ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा गरिएको थियो ।
प्रधानमन्त्री केपी ओली पनि विशाल सैन्य परेडमा सहभागी भएका छन् । उनी सैन्य परेडमा सहभागी भएर आजै स्वदेश फर्किदैछन् ।
परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका शासक किम जोन उनलगायत सहभागी भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने मंगलबार नै स्वदेश फर्किसकेका छन् ।
नेपालको विकास साझेदार जापानविरुद्धको सैन्य परेडमा सहभागी नहुन प्रधानमन्त्री ओलीलाई सुझाव दिइए पनि उनले त्यसको बेवास्ता गरेका छन् । कूटनीतिक र सामरिक मामिलाका जानकारले जापानविरुद्धको चिनियाँ सैन्य परेडमा प्रधानमन्त्री केपी ओलीको सहभागिता नेपालको असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने तथा कूटनीतिक हिसाबले गलत सन्देश दिने खालको रहेको भन्दै प्रश्न उठाएका छन् ।
उनीहरूले जापानसँगको मित्रतामा दरार ल्याउन सक्ने यस्तो कदम ‘अनुचित र संवैधानिक मर्मविपरीत’ रहेको व्याख्यासमेत गरेका छन् । नेपाल र जापानले १ सेप्टेम्बर १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । जापान नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो ।










