थियानजिन । प्रधानमन्त्री केपी ओलीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडाले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालले समर्थन नगरेको बताएका छन् ।
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा जिएसआइको विषयमा कुनै सहमति नभएको उनको भनाइ छ । भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अंग नबन्ने स्पष्ट पारे ।
सांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भदौ १४ गते भेटवार्ता भएको थियो ।
भेटपछि चीनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा नेपालले चीनको जिएसआइमा समर्थन गरेको भन्ने आशय सार्वजनिक गरिएको थियो । ‘प्रधानमन्त्री ओलीको यो भ्रमण मूलत एससिओ प्लसको शिखर सम्मेलनका लागि हो । सामान्यतः यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन र गरिएको छैन । सहमति नै नभएको विषयमा नेपाल जिएसआइको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु विल्कुलै गलत छ,’ उनले भने ।
खतिवडाले दुई मुलुकबीच यसअघि भएका बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) को फ्रेमवर्कलगायत सहमति र सम्झौताका कार्यान्वयनका लागि दुवै पक्षले प्राथमिकता दिने विषयमा छलफल भएको जानकारी दिए । भ्रमणका क्रममा जिएसआइमा सहमति गरिएको भन्दै नेपालका कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालले विभिन्न टिप्पणी गर्नेहरूलाई यथार्थ बुझेर मात्रै सम्प्रेषण गर्न उनले आग्रह गरे ।
खतिवडाका अनुसार नेपाल र चीनबीच सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायत क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । नेपालको आर्थिक सामाजिक रूपान्तरणमा सघाउन चीन सधै तत्पर रहेको उनको भनाइ छ ।
प्रधानन्त्री ओलीको यसअघिको चीनको औपचारिक भ्रमणमा क्रममा उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि र भैसीँको मासु चीन निर्यातलगायत विषयको सहमतिमा हस्ताक्षर भएको थियो ।












