दैलेख। साल्तडाका किसानले मकैबालीमा रोग र कीराले क्षति पुर्‍याएको गुनासो गरेपछि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह आइतबार खेतबारीमै पुगेका छन्। 

अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडालाई कृषि उत्पादनका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउँदै भने, “मन्त्रालयलाई जानकारी हुने वित्तिकै बारीमा प्राविधिकहरुको साथमा सरकार उपस्थित भएर किसानका समस्या समाधानका निम्ति अनुगमन गरेका छौँ। सबै सरकारले गरी दिओस् भन्ने मनोविज्ञान नराखी सबैले आफ्नो कर्तव्य अनुरुपका काम किसानले गर्नुपर्छ। सरकारले हुनेसम्मको सहयोग गर्छ नै।”

उनले प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्न थालेको उल्लेख गर्दै रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्नुका साथै अम्लियपन बढेको कारण उत्पादनमा समस्या देखिएको बताए।

ADVERTISEMENT

अनुगमनमा सहभागी एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले मकैमा जटिल रोग देखिएको जानकारी दिँदै भने, “मकैमा थेग्ले, घोगा र काण्डमा कुइने रोग देखिनुका साथै खाद्य तत्वको कमी भएको छ।” उनले रोग नियन्त्रणका लागि बाली चक्र प्रणाली, रोग प्रतिरोधी जातको प्रयोग, खेतबारी सरसफाइ, पर्याप्त सिँचाइ व्यवस्था र खेती प्रणालीमा सुधार गर्नुपर्ने सुझाव पनि दिए।

ADVERTISEMENT

स्थानीय किसान तेजबहादुर शाहीका अनुसार साल्तडामा आठ हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती भइरहेको छ, जसमा पाँच हेक्टरमा मकै, आँप र केराको खेती गरिएको छ। उनले भने, “पाँच हेक्टरभन्दा बढी क्षेत्रमा बीउ उत्पादनका लागि लगाइएको मकै रोगले सखाप पारेको छ।”

ADVERTISEMENT