काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आज राष्ट्रियसभामा पेस गर्ने तयारी छ । आज अपराह्न सवा तीन बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले निजामती विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
विधेयकमा मिल्न बाँकी विषय आजै टुंग्याउने र राष्ट्रिय सभामा पेस गर्ने तयारी गरिएको हो । विधेयकमा कर्मचारीको अवकाशको उमेर हद लागु गर्ने विषयबाहेक अन्य अधिकांश विषयमा सहमति जुटिसकेको छ ।
आज बिहान पुन बैठक बसेर नमिलेका विषयमा मिलाउने र प्रतिवेदन आजै राष्ट्रिय सभा बैठकमा पेस गर्ने तयारी गरिएको समिति सभापति दाहालले जानकारी दिइन ।
आइतबारको बैठकमा चालु आर्थिक वर्षमा ५९ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समितिका सदस्यलाई आग्रह गरेकी थिइन् ।










