काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । साइबर अपराधसम्बन्धी मुद्दामा बुधबार आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै उनी आफैं प्रहरीमा उपस्थित भएका छन् ।
प्रहरीलाई अनुसन्धानमा सघाउन महर आफैं प्रहरीकहाँ गएका हुन् । पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले रीतपूर्वक अदालतमा पेस गरिएको बताए ।
पीडित धामी पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन् । प्रहरीले दिन नमानेपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित भएका थिए । मुद्दा चल्ने, नचल्नेबारे अदालतको आदेश आउन बाँकी छ । केही समयअघि महर र रश्मिलाको अडियो टेप सार्वजनिक भएको थियो ।
महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।





