ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको छ।

महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो।

ADVERTISEMENT

‘खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ,’ उनले भने।

ADVERTISEMENT

ललितपुर १ का प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले सवइन्जिनियर दाहालको निधन भएकोमा दुःख प्रकट गरेका छन् । उनले प्राकृतिक विपत्तिबाट बच्न आग्रहसमेत गरेका छन् ।

‘महांकाल गाउँपालिका–४ निवासी, वडा नम्बर ६ को सवइञ्जिनियर सबिन दाहाल ड्युटी सकेर घर फर्कने क्रममा, बाढीले बगाएर निधन भएको दुःखद खबरले स्तब्ध बनाएको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु। लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन अनुरोध गर्दछु,’ राणाले भनेका छन् ।