सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ। सुर्खेतसहित बर्दिया र रुकुम पश्चिममा खेल सञ्चालन गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।
आज सुर्खेतस्थित वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल हुनेछन्। महिला क्रिकेटका खेल बिहान ९ बजे र दिउँसो १ः३० बजे सञ्चालन हुनेछन् भने महिला बास्केटबल बिहान ९ बजेदेखि सुरु हुनेछ।
सुर्खेतको मुख्य रंगशालामा पुरुष फुटबलका दुई खेल हुने तालिका छ। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, मुख्य कभर्ड हलमा बक्सिङ, मिनी कभर्ड हलमा जिम्न्यास्टिक र ब्याडमिन्टन कभर्ड हलमा फुल कन्ट्याक्ट कराँतेका खेल सञ्चालन हुनेछन्। यी सबै खेल बिहान ९ बजेदेखि सुरु हुने तालिका छ।
कर्णाली प्रदेशबाहिर बर्दियामा टेनिसका खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछन्। रुकुम पश्चिमको चौरजहारीमा भने शारीरिक सुगठन प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुने राखेपले जनाएको छ।












