काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशबाट ‘शिक्षा संवाद’का क्रममा प्राप्त सुझावलाई शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा सञ्चालन गरिएको ‘शिक्षा संवाद’ कार्यक्रममा शिक्षाका विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो । उक्त छलफलबाट प्राप्त सुझाव समेटेर तयार पारिएको प्रतिवेदन शुक्रबार मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको हो ।

ADVERTISEMENT

प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माण गर्दा सबै सरोकारवालाको आवाज समेट्ने प्रयास भइरहेको बताए । शिक्षा ऐनको मस्यौदा तयार भइसके पनि शिक्षक, प्रधानाध्यापक र विद्यार्थीसँग छलफल गर्दा केही विषय अपुग भएको महसुस भएपछि संवाद कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

ADVERTISEMENT

‘शिक्षा ऐनको मस्यौदा तयार भएको छ । अध्ययन गर्दै जाँदा शिक्षक, प्रधानाध्यापक र विद्यार्थीका कुरा सुन्दा केही विषय अपुग भएको महसुस भयो,’ उनले भने, ‘सरोकारवालाको आवाज सुनेर कानुन बनाउनुपर्छ भनेर यसलाई प्राथमिकतामा राखेका हौँ । सिंहदरबारको कोठामा बसेर भन्दा पनि धरातलमै पुगेर बुझेर कानुन बनाउनुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’

मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझाव अध्ययन गरी शिक्षा ऐनको मस्यौदालाई पूर्णता दिने तयारी गरेको छ ।

प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमले सातै प्रदेशका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, कर्मचारी तथा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँग छलफल गरेर सुझाव संकलन गरिएको जानकारी दिए ।

उनले सबै प्रदेशबाट प्राप्त सुझाव मन्त्रीलाई हस्तान्तरण गरिएको र ती सुझाव शिक्षा ऐनको मस्यौदामा समावेश हुने विश्वास व्यक्त गरे ।

यसैबीच, शिक्षा ऐनको मस्यौदा तयार पार्न शिक्षामन्त्री पोखरेलका सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा समिति पनि गठन गरिएको छ ।