काठमाडौं । सरकारले विभिन्न निकायमार्फत सञ्चालन भइरहेका सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमसमेत समेटेर सामाजिक सुरक्षाको प्रणालीलाई व्यवस्थित बनाउने काम भइरहेको बताएका छन्।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले छरिएका लोककल्याणकारी कार्यक्रमलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाएको बताए।
उनका अनुसार सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारको प्राथमिकतामा राखिएको छ। यस वर्षको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि बजेट देखिने गरी उल्लेख नभए पनि ठूलो रकम विनियोजन गरिएको उनले दाबी गरे।
‘यसपालि बजेटमा देखिने गरी सामाजिक सुरक्षाका कार्यक्रममा बजेट छैन, तर बजेट नै नभएको होइन । हामीले ठूलो बजेट छुट्याएका छौँ,’ मन्त्री वाग्लेले भने, ‘लोककल्याणकारी राज्यको सिद्धान्ततः सरकारले यो मुद्दालाई विशेष प्राथमिकतामा राखेको छ।’
उनले आगामी पाँच वर्षका प्रत्येक बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि उल्लेखनीय बजेट विनियोजन गरिने पनि बताए।
सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्दै आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकसम्म सुविधा पुर्याउने लक्ष्य राखेको मन्त्री वाग्लेले बताए। त्यसका लागि सामाजिक सुरक्षा कोषलगायतका कार्यक्रमलाई अझ व्यापक र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो।
रास्वपा नेतृत्वको सरकारकै कार्यकालमा चौथो वा पाँचौँ बजेटसम्म सामाजिक सुरक्षा कार्यक्रमलाई थप व्यापक र व्यवस्थित बनाउँदै लोककल्याणकारी राज्यको अवधारणालाई स्थापित गर्ने मन्त्री वाग्लेले दाबी गरे।












