काठमाडौं । चितवनमा गत सेप्टेम्बर ११ मा आयोन वाई प्लस विद्युतीय सवारीसाधनमा भएको आगलागी ब्याट्री वा विद्युतीय प्रणालीको खराबीका कारण नभएको जीएसी इन्टरनेसनलले जनाएको छ।

कम्पनीले घटनाबारे गरेको अनुसन्धानपछि सार्वजनिक गरेको प्रतिवेदनमा आगलागीको स्रोत सवारीसाधनको ब्याट्री वा विद्युतीय प्रणाली नभई बाह्य प्रज्वलन स्रोत रहेको निष्कर्ष निकालेको छ। कम्पनीका अनुसार घटनालाई उच्च प्राथमिकतामा राख्दै तत्काल वरिष्ठ प्राविधिक टोली परिचालन गरी अनुसन्धान गरिएको थियो।

ADVERTISEMENT

प्रतिवेदनअनुसार अनुसन्धानका क्रममा सवारीसाधनको ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा रहेको पाइएको छ। ब्याट्रीको माथिल्लो तथा तल्लो आवरण र प्रेसर रिलिफ डिस्कसमेत सुरक्षित अवस्थामा रहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

त्यस्तै, सवारीसाधनको वायरिङ हार्नेस तथा बरामद गरिएका विद्युतीय उपकरणको परीक्षण गर्दा सर्ट सर्किटका कारण तार पग्लिएको, विद्युतीय क्षति भएको वा तार जलेर प्वाल परेको कुनै संकेत नभेटिएको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीले अनुसन्धानबाट सवारीसाधनका विद्युतीय पार्टपुर्जा वा प्रणालीमा उत्पादनगत त्रुटि अथवा अन्य कुनै आन्तरिक खराबीका कारण आगलागी भएको प्रमाण फेला नपरेको जनाएको छ।

जीएसी इन्टरनेसनलले विश्वभर करिब तीन करोड सवारीसाधन उत्पादन गरिसकेको दाबी गर्दै अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्ड पालना गर्दै आएको जनाएको छ। नेपालमा उपलब्ध आफ्ना सवारीसाधन पनि सोही विश्वव्यापी मापदण्डअनुसार रहेको कम्पनीको भनाइ छ।

कम्पनीले सवारीसाधनको सुरक्षा, गुणस्तर र विश्वसनीयताका मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित सरोकारवालासँग सहकार्य जारी राख्ने जनाएको छ।