काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारीहरू अध्यादेश तथा नियमावलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन्। शुक्रबार प्रतिष्ठानको प्रांगणमा प्लेकार्डसहित प्रदर्शन गर्दै उनीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको र आफूहरूले दिएका सुझाव बेवास्ता गरिएको भन्दै विरोध जनाएका हुन्।
प्रदर्शनमा सहभागी कर्मचारीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन्।
विरोध प्रदर्शनका क्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिक र कर्मचारीमैत्री नभएको बताए। सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने उनको भनाइ थियो।
कँडेलले विज्ञान क्षेत्रको भविष्य निर्धारण गर्ने नीति तथा कानुन निर्माण गर्दा वैज्ञानिक, कर्मचारी र अन्य सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। विज्ञान तथा अनुसन्धान क्षेत्रको विकासका लागि संस्थागत सुधार आवश्यक भए पनि त्यसले संस्थाको क्षमता कमजोर पार्न नहुने उनले धारणा राखे।
कर्मचारीहरूले अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न, संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब रोक्न तथा सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति निर्माण गर्न माग गरेका छन्।
त्यस्तै, प्रतिष्ठानको सक्षम नेतृत्व खुला विज्ञापन तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट चयन गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्। कर्मचारीहरूले विज्ञान तथा अनुसन्धान क्षेत्रको विकास, संस्थागत स्वायत्तता र दक्ष जनशक्तिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।












