काठमाडौं । प्रदेश लोकसेवा आयोगसँग जोडिएका भत्ता तथा अन्य अनियमिततासम्बन्धी उजुरीमाथि छानबिन गर्न सुशासन तथा योजना समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।

संसदीय समितिमा आयोगको कामकारबाही र आर्थिक अनियमिततासम्बन्धी उजुरी परेपछि विस्तृत छानबिनका लागि उपसमिति गठन गरिएको समितिकी सभापति खगेश्वरी पौडेलले जानकारी दिइन् ।

ADVERTISEMENT

उपसमितिको संयोजकमा समितिका सदस्य तथा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चयन भएका छन् । सदस्यहरूमा राधाकृष्ण खनाल, मीना श्रेष्ठ र भूमिप्रसाद राजवंशी रहेका छन् । प्रदेशसभा सचिव सुदर्शन खड्का सदस्य सचिव रहने गरी उपसमिति गठन गरिएको हो ।

ADVERTISEMENT

दलहरूको प्रतिनिधित्वमा सन्तुलन मिलाएर उपसमिति गठन गरिएको एक सदस्यले जानकारी दिए । उपसमितिलाई मंसिर २५ गतेभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँमाथि आयोगको परीक्षा प्रक्रियामा आफैँ संलग्न भएर विभिन्न शीर्षकमा भत्ता लिएको आरोप लागेको थियो । उनले प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, अन्तर्वार्ता तथा प्रतिवेदन तयार पार्नेसम्मका काममा आफैँ संलग्न भएर विज्ञका नाममा समेत भत्ता लिएको आरोप उजुरीमा उल्लेख छ ।

त्यस्तै, आफन्तलाई प्रश्नपत्र निर्माणको जिम्मेवारी दिएको र कर्मचारीको वृत्तिविकास रोक्ने उद्देश्यले आफ्नै कर्मचारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।

यी आरोप सार्वजनिक भएपछि आलोचना बढिरहेका बेला गुरागाईँले गत कात्तिक १० गते पदबाट राजीनामा दिएका थिए । यसअघि संसदीय समितिले बोलाएको बैठकमा समेत उनी उपस्थित भएका थिएनन् ।

गुरागाईँको राजीनामापछि पनि आयोगभित्रका अनियमिततासम्बन्धी उजुरीमाथि संसदीय समितिले छलफल र छानबिनलाई निरन्तरता दिएको छ ।

अब गठित उपसमितिले उजुरीमा उल्लेखित विषय, आयोगको कामकारबाही र भत्ता वितरण प्रक्रियालगायत पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

प्रदेश लोकसेवा आयोगभित्रको अनियमिततासम्बन्धी विषयमा नेपालखबरले सूचनाको हक प्रयोग गरी सूचना माग गरेर समाचारसमेत प्रकाशित गरेको थियो ।