काठमाडौँ । आज नोभेम्बर २७ मा बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। यस अवसरमा संयुक्त राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।
राष्ट्रसङ्घका अनुसार विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको छ। बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरेर गरेको थियो। यस वर्ष पहिलोपटक नोभेम्बर २७ मा यो दिवस मनाउन लागिएको हो।
राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। तथ्याङ्कअनुसार प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेकी छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी गरेको सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताएका थिए।
उनले बालविवाहको प्रमुख कारण गरिबी रहेको उल्लेख गर्दै द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका बेला यसको जोखिम थप बढ्ने बताएका थिए। बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको भनाइ थियो।
महासचिव गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका प्रयासबाट अनुमानित ६ करोड ८० लाख बालविवाह रोक्न सकिएको छ। तर, अहिलेको प्रगतिको गतिले बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्न सक्ने उनले चेतावनी दिएका थिए। उनले सरकार, निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम तथा लगानी बढाउन आग्रह गरेका थिए।
यसैगरी, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न अहिलेको प्रयासको गति २० गुणा बढाउनुपर्ने बताएका छन्। राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बोल्दै उनले बालविवाह मानवअधिकारको उल्लङ्घन भएको उल्लेख गरेका थिए।
उनले विवाहको न्यूनतम उमेर १८ वर्ष कायम गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चिततामा जोड दिएका थिए। विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई समेत शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने राष्ट्रसङ्घको भनाइ छ। साथै, बालिकालाई आफ्नै जीवनसँग सम्बन्धित निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा पनि जोड दिइएको छ।
राष्ट्रसङ्घका अनुसार बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख यस क्षेत्रमा छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।
पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकोमा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ।
बालविवाहका कारण बालिकाले शिक्षा प्राप्त गर्ने अवसर गुमाउनुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा समेत असर पर्ने गरेको छ। यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घले जनाएको छ।
दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, हालको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने अनुमान गरिएको छ।
राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि कानुनी सुधारसँगै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार, सामाजिक सुरक्षा र परिवारको आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम आवश्यक रहेको जनाएको छ।












