काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।

ADVERTISEMENT

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार बिहान काठमाडौँ उपत्यका र खोँचसहित तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।