ललितपुर । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा परेर भारतको नयाँदिल्लीस्थित एक होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपाली नागरिकको उद्धार गरिएको छ ।

सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार उनीहरूको सकुशल उद्धार गरिएको हो ।

ADVERTISEMENT

घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नयाँदिल्लीस्थित नेपाली राजदूतावास, दिल्ली प्रहरी तथा किन इण्डिया संस्थाले उद्धारका लागि समन्वय गरेका थिए ।

ADVERTISEMENT

महर्जनले सम्बन्धित निकायको सक्रियता र संयुक्त प्रयासपछि तीनै जनालाई बन्धक अवस्थाबाट मुक्त गर्न सफल भएको बताइन् ।

किन इण्डियाका निर्देशक नवीन जोशीका अनुसार वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसारमा संलग्न समूहले उनीहरूलाई दिल्ली पुर्‍याएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धारको पहल गरिएको उनले बताए ।

रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा मानव बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार हुनुपर्ने जोशीको भनाइ छ ।

उद्धार अभियानमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, नयाँदिल्ली, दिल्ली प्रहरी र सामाजिक संस्था किन इण्डियाको सहकार्य रहेको जनाइएको छ ।