काठमाडौं । विश्वविद्यालयहरूमा एआई डिटेक्सन सफ्टवेयरको प्रयोग रोक्न माग गर्दै दायर गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने सर्वोच्च अदालतका रजिस्ट्रारको दरपीठ आदेश बदर गर्दै कानुनबमोजिम दर्ता गर्न आदेश दिएको हो ।
कानुनका विद्यार्थी रोशन आउजी, विवेक चौधरीलगायतले विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा प्रयोग भइरहेका एआई डिटेक्सन सफ्टवेयरको विश्वसनीयता र त्यसले विद्यार्थीको शैक्षिक अधिकार तथा गोपनीयतामा पार्न सक्ने असरबारे प्रश्न उठाउँदै रिट निवेदन दिएका थिए ।
निवेदकहरूले एआईबाट तयार पारिएको सामग्री पहिचान गर्ने सफ्टवेयरका आधारमा विद्यार्थीका मौलिक शोधपत्र, सेमिनार पेपर तथा अन्य शैक्षिक सामग्री अस्वीकार गर्ने अभ्यास भइरहेको दाबी गरेका छन् । उनीहरूका अनुसार विद्यार्थी आफैँले तयार पारेका सामग्रीलाई समेत सफ्टवेयरले ‘Likely AI Generated’ देखाउने गरेको छ । यसका कारण विद्यार्थीले पटक–पटक सामग्री संशोधन गर्नुपर्ने अवस्था आएको छ ।
रिटमा सरकारी नीति तथा कानुनी मापदण्ड नबन्दासम्म विश्वविद्यालयहरूले आफूखुसी एआई डिटेक्सन सफ्टवेयर प्रयोग गर्न नपाउने व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै, यस्ता सफ्टवेयरको आवश्यकता, औचित्य र विश्वसनीयता अध्ययन गर्न उच्चस्तरीय विज्ञ समिति गठन गर्नुपर्ने मागसमेत गरिएको छ ।
विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय र नेपाल ल क्याम्पसलगायतका शैक्षिक संस्थामा Turnitin र iThenticate जस्ता सफ्टवेयर प्रयोग भइरहेको उल्लेख गरेका छन् । विदेशी सर्भरमा विद्यार्थीका शोधपत्र तथा व्यक्तिगत विवरण पुग्ने भएकाले गोपनीयताको अधिकारसमेत प्रभावित हुन सक्ने उनीहरूको जिकिर छ ।
निवेदकहरूले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, वैयक्तिक गोपनीयता र शिक्षासम्बन्धी हक प्रभावित भएको दाबी गर्दै अदालतको हस्तक्षेप माग गरेका हुन् ।
यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले मंसिर २ गते निवेदनमा कुन मौलिक वा कानुनी हक उल्लङ्घन भएको हो भन्ने स्पष्ट नभएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेका थिए । त्यसपछि निवेदकहरूले उक्त दरपीठ आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।
मंसिर ७ गते न्यायाधीश पोखरेलको इजलासले दरपीठ आदेश बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।
सर्वोच्चको पछिल्लो आदेशले एआई डिटेक्सन सफ्टवेयरको प्रयोगमा तत्काल रोक लगाएको भने होइन । यसले निवेदन दर्ता गरी त्यसमा उठाइएका विषयमाथि अदालतमा सुनुवाइ हुने बाटो खोलेको छ ।












