मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै करिब ७ हजार विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्। तर, आयात भएका गाडीलाई भन्सारबाट देशका विभिन्न गन्तव्यसम्म पुर्याउन भने जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव चुनौती बनेको छ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ गरी चार महिनामा ७ हजार ईभी आयात भएका हुन्।
गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा ईभी भित्रिएका थिए। अर्थात्, अघिल्लो आर्थिक वर्षको पूरै अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामै दोब्बरभन्दा बढी ईभी आयात भएका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण गत भदौ १० गतेदेखि रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट आउने सवारीसाधन तथा अन्य मालवस्तुको आयात कोरला नाकातर्फ मोडिएको मुस्ताङ भन्सार कार्यालयका अधिकारीहरूले बताएका छन्।
तर, आयातको गति बढे पनि सवारीसाधन ढुवानी सहज हुन सकेको छैन। जोखिमपूर्ण सडक र दक्ष चालकको अभावका कारण भन्सार जाँचपास भइसकेका दर्जनौँ विद्युतीय सवारीसाधन गन्तव्यतर्फ जाने क्रममा बाटोमै रोकिएका छन्।
विशेषगरी मुस्ताङबाट देशका अन्य भागसम्म गाडी पुर्याउने क्रममा सडकको अवस्था र सवारी चलाउन आवश्यक अनुभव भएका चालकको कमीले समस्या थपिएको भन्सार अधिकारीहरूको भनाइ छ।
यसैबीच, कोरला नाकाबाट आयात बढेसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलन पनि उल्लेख्य बढेको छ। कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व उठाएको छ। जबकि कार्यालयको वार्षिक राजस्व लक्ष्य ९ अर्ब रुपैयाँ मात्रै थियो।
सोही अवधिमा चीनबाट कोरला नाका हुँदै ३० अर्ब ९ करोड रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन्। विद्युतीय सवारीसाधनसँगै लत्ताकपडा, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न आयात भएका छन्।
कोरला नाकाबाट ईभी आयात बढ्नुले चीनसँगको व्यापारिक आवागमनमा यो नाकाको भूमिका विस्तार भएको देखाउँछ। तर, आयात भएका सवारीसाधनलाई समयमै बजारसम्म पुर्याउन सडक पूर्वाधार र दक्ष चालकको व्यवस्थापन गर्न नसकिए आयातको बढ्दो चाप नै ढुवानीको समस्यामा परिणत हुन सक्ने देखिन्छ।












