काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन् ।
खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यता, चितवन राइनोजले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । बुधबार भएको खेलमा चितवनसँग पराजित भएपछि काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको थियो ।
अब आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पराजित टोलीको भने एनपीएल यात्रा समाप्त हुनेछ ।












