चितवन । पटका पड्काउने क्रममा आगोको झिल्का कपडामा सल्किँदा पूर्वी चितवनको खैरहनीमा एक बालक गम्भीर घाइते भएका छन् ।
खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी बुधबार (कात्तिक २५) साँझ पटका पड्काउने क्रममा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार पटका पड्काउँदा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा सल्किएको थियो । आगोले उनको छातीभन्दा तलको भाग जलेको छ ।
घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको एसपी पौडेलले जानकारी दिएका छन् ।












