काठमाडौँ । दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुला गरिने भएको छ ।

वर्षमा एक पटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूले पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ ।

ADVERTISEMENT

बुधबार बिहानैदेखि भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

ADVERTISEMENT

यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन र टीका लगाउने प्रचलन छ ।

संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिएको थियो ।

त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गरेको उनले बताए । अहिले पनि भाइटीकाका दिन उक्त मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिर जाने गरेका थिए । पुनर्निर्माणपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गरिएको हो ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्छन् । नेवार समुदायमा कुल परम्पराअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने चलन छ ।

भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन् ।