काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली हुने पूर्वानुमान छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार सोमबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।












