काठमाडौं । वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार राति वीरगञ्ज महानगरपालिका १२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो ।
शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरका स्वास्थ्य शाखा प्रमुख साजु साहले जानकारी दिए ।
साहका अनुसार शनिबार साँझसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन् ।
साहका अनुसार मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि उनीहरूलाई तराई अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले उपचाररत बिरामीमा हैजाको संक्रमण आशंका गर्दै वीरगञ्ज महानगरको स्वास्थ्य शाखालाई खबर गरेको थियो ।
लगत्तै नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको साहले बताए । साहका अनुसार वीरगञ्जका नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीको चाप बढिरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो । ‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ ।
यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए संक्रमितको मृत्यु समेत हुन सक्छ ।
१२९ जना बिरामी मध्ये शनिबार साँझसम्म ४२ जनामा हैजाको संक्रमण पुष्टि हुनु महामारीको रूप भएको ठाकुर बताउँछन् ।
ठाकुर भन्छन्, ‘२८ साउनमा मुर्ली क्षेत्रका स्थानीयमा फाट्फुट्ट झाडापखालाको लक्षण भएका बिरामी देखा परेका थिए । विस्तारै यो संख्या बढ्दै गयो । झाडापखाला देखिएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भयो ।यो संख्या शनिबार साँझसम्म आइपुग्दा ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो महामारीको रूप नै हो ।’
हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए । विशेषज्ञहरूले दूषित पानी पिउँदा र अस्वस्थकर खाना खाँदा हैजा फैलिने बताउँदै सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।
हाल वीरगञ्जको विभिन्न बस्तीमा वर्षात्को ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ । संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र सफा खानेपानी प्रयोग गर्ने आग्रह गरेको छ ।
यससँगै स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै घर–घर सचेतना अभियान सञ्चालन गर्दै हात धुने बानी, सफा खानेपानी, र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई आग्रह गरिरहेका छन् ।







