काठमाडौं । वीरगञ्जमा हैजा संक्रमितको संख्या एक सय नाघेको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार हैजा संक्रमितको संख्या ११४ पुगेको छ ।

तथ्यांक अनुसार आईसीयूमा ३१, एचडीसीयूमा ६ र वार्डमा १६९ जना झाडापखला र हैजाका बिरामी उपचाररत छन् । शुक्रबार यता विभिन्न अस्पतालमा ३९० जना झाडापखला र हैजाका बिरामी भर्ना भएका थिए । जसमध्ये १८४ जना झाडापखला र हैजाका बिरामी उपचारपछि अस्पतालहरूबाट डिस्चार्ज भएका छन् ।

वीरगञ्जका विभिन्न १६ वटा अस्पतालमा २०६ जना झाडापखला र हैजाका बिरामी उपचाररत रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आरडीटी परीक्षणमा नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८, नेसनल मेडिकल कलेजमा १५ जना झाडापखलाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको हो ।

यसैगरी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मंगलम प्याथोलोजिमा गरिएको आरडीटी परीक्षणमा समान ३\३ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यसैगरी अली अर्थो अस्पताल र एड्भान्स सेन्ट्रल अस्पतालमा गरिएको परीक्षणमा समान २र२ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।