काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मौलिक संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने ट्रम्पको दाबी छ।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ओभल अफिसलाई राष्ट्रिय स्मारकका रूपमा संरक्षण गरिने बताएका हुन्। ‘अब कसैले पनि यसलाई छुन, नष्ट गर्न वा भत्काएर फरक स्वरूपको संरचना बनाउन पाउने छैन,’ उनले भने।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको स्वरूपमा व्यापक परिवर्तन गरेका छन्। कार्यालयभित्र सुनौलो सजावट र विभिन्न कलात्मक सामग्री थपिएका छन्। साथै, कार्यालयबाहिर ठूलो सुनौलो पाटी राखिएको र रोज गार्डेनको स्वरूपसमेत परिवर्तन गरिएको छ।
नयाँ आदेशमा ओभल अफिससँगै वरपरका केही कोठालाई पनि राष्ट्रिय स्मारकका रूपमा उल्लेख गरिएको छ। यद्यपि, यसले राष्ट्रपतिलाई सजावट परिवर्तन गर्न, फर्निचर छनोट गर्न तथा सामान्य सञ्चालन र सुरक्षा व्यवस्थासम्बन्धी परिवर्तन गर्न रोक लगाउँदैन। तर यस्ता परिवर्तनले ऐतिहासिक संरचना र वास्तुकलाको मौलिक चरित्रमा ठूलो क्षति पुर्याउन नहुने व्यवस्था गरिएको छ।
ट्रम्पको यो निर्णय ह्वाइट हाउसको पूर्वी भाग भत्काएर नयाँ बलरुम निर्माण गर्ने योजना विवादमा परिरहेका बेला आएको हो। उक्त परियोजना अमेरिकी कंग्रेसको स्वीकृतिबिनै अघि बढाइएको भन्दै कानुनी चुनौतीसमेत परेको छ।
ह्वाइट हाउसको पुनःसजावटलाई लिएर डेमोक्रेटिक नेताहरूले पनि ट्रम्पको आलोचना गर्दै आएका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पले थपेको सुनौलो सजावटको व्यंग्यात्मक टिप्पणी गरेका थिए।
नयाँ आदेशअनुसार ओभल अफिसको संरक्षण र व्यवस्थापन राष्ट्रिय निकुञ्ज सेवा (नेसनल पार्क सर्भिस) ले गर्नेछ। कार्यालयको ऐतिहासिक स्वरूप, वास्तुकलाको अखण्डता र राष्ट्रपतीय इतिहाससँगको सम्बन्ध जोगाउने जिम्मेवारी उक्त निकायलाई दिइएको छ।
हालको ओभल अफिस सन् १९३० को दशकको सुरुवातमा तत्कालीन राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्टको अवधारणाअनुसार निर्माण भएको हो। ह्वाइट हाउस भने यसअघि नै राष्ट्रिय ऐतिहासिक सम्पदाका रूपमा सूचीकृत छ।










