इटहरी । चिसो मौसम, रातको सिरेटो र खुला रंगशाला। तर बुधबार साँझ इटहरी रंगशालामा जम्मा भएका हजारौँ दर्शकलाई मौसमको कुनै प्रवाह थिएन। उनीहरू एउटै प्रतीक्षामा थिए– नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्य र मुख्य गायक अमृत गुरुङको प्रत्यक्ष प्रस्तुति।
जब मञ्चमा नेपथ्यको प्रवेश भयो, रंगशाला दर्शकको हुटिङ र तालीले गुञ्जायमान बन्यो। रंगीन प्रकाश, धुवाँका मुस्लो र हजारौँ मोबाइलका बत्तीले रंगशालाको दृश्यलाई थप आकर्षक बनायो।
नेपथ्यको पहिलो प्रत्यक्ष प्रस्तुतिमा इटहरी रंगशालामा करिब १० हजार दर्शक सहभागी भए। पूर्वाञ्चल इभेन्ट्स प्रालिका अनुसार कन्सर्टका लागि ८ हजार ५०० टिकट बिक्री भएको थियो भने थप १ हजार ५०० पास वितरण गरिएको थियो।
इटहरी रंगशालामा आयोजित ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ तीन घण्टासम्म चल्यो। साँझ करिब ६ बजे मञ्चमा उक्लिएका अमृत गुरुङले ‘नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गरेपछि सांगीतिक कार्यक्रम सुरु भएको थियो।
‘हो रामा रामा’ गीतबाट सुरु भएको प्रस्तुतिमा नेपथ्यले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई लगातार मनोरञ्जन दियो। ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’ र ‘रुकुम’ लगायतका गीतमा दर्शकले स्वर मिलाए।
कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ ले माहोल थप तताए। अन्तिममा ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गर्दै नेपथ्यले तीन घण्टे सांगीतिक यात्राको बिट मार्यो।
कन्सर्टमा बालबालिकादेखि वृद्धवृद्धासम्मको उपस्थिति थियो। युवायुवती गीतमा नाचिरहेका थिए भने पुराना पुस्ताका दर्शक आफ्ना सम्झनासँग जोडिएका गीतमा स्वर मिलाइरहेका थिए। सुनसरी, मोरङ, झापा, धनकुटा, इलामलगायत पूर्वी नेपालका विभिन्न क्षेत्रबाट दर्शक आएका थिए। भारतको सिक्किम र दार्जिलिङबाट समेत नेपाली संगीतका पारखी सहभागी भएको आयोजकले जनाएको छ।

गीतसँगै अमृत गुरुङको सामाजिक सन्देश
अमृत गुरुङको प्रस्तुति गीत गाउने र दर्शक नचाउनेमा मात्रै सीमित रहेन। उनले गीतका बीचमा दर्शकसँग संवाद गर्दै विशेषगरी युवापुस्तालाई जीवन र समाजप्रति जिम्मेवार बन्न आग्रह गरे।
उनले युवालाई जीवन धुवाँमा नउडाउन, गरिब तथा दुःखीलाई सकेको सहयोग गर्न र आफ्नो देश घुमेर माटो चिन्न सुझाव दिए। ‘देश हामीले नै बनाउनुपर्छ’ भन्ने उनको आग्रहले केही समयका लागि दर्शकको ध्यान मनोरञ्जनबाट सामाजिक जिम्मेवारीतर्फ पनि तान्यो।
छरछिमेकमा शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउन सहयोग गर्नु ठूलो पुण्य हुने उनको भनाइ थियो। नेपाली संगीतलाई माया गर्न, आपसी एकता कायम राख्न र हिमाल, पहाड तथा तराईलाई भावनात्मक रूपमा जोड्नुपर्ने सन्देश पनि उनले दिए।
एकै मञ्चमा जोडिए फरक पुस्ता
नेपथ्यका गीतले मनोरञ्जनसँगै पुस्ताबीचको भावनात्मक सम्बन्धलाई पनि जोडेको देखिन्थ्यो। पुराना पुस्ताका लागि ती गीत विगतका सम्झना थिए भने नयाँ पुस्ताका लागि संगीतसँग रमाउने अवसर।
कार्यक्रममा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुबिन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
आयोजक पूर्वाञ्चल इभेन्ट्स प्रालिले कार्यक्रमलाई इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेश सरकारको प्रवर्द्धनमा सम्पन्न गरेको हो।
करिब १० हजार दर्शकको सहभागिताले इटहरीमा ठूला सांगीतिक कार्यक्रमप्रति रहेको आकर्षण देखाएको छ। यस्ता कार्यक्रमले स्थानीय होटल, यातायात, रेस्टुरेन्ट तथा व्यापारिक गतिविधिमा समेत चहलपहल बढाउन सक्ने सम्भावना देखिन्छ।
बुधबार राति इटहरी रंगशालामा नेपथ्यका गीत मात्रै गुञ्जिएनन्, हजारौँ दर्शक एउटै लयमा जोडिए। तीन घण्टे प्रस्तुतिपछि मञ्चका बत्ती निभे पनि दर्शकको उत्साह र नेपथ्यका धुनले चिसो रातलाई लामो समयसम्म न्यानो बनाइरह्यो।











