काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन्।

काठमाडौं जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई संशोधित कैदीपुर्जी पठाएको छ। ६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए।

ADVERTISEMENT

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार संशोधित पुर्जीअनुसार रायमाझी कात्तिक २६ गते रिहा हुनेछन्।

ADVERTISEMENT

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका थिए। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।

सुरुमा चार वर्ष कैद सजाय तोकिए पनि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले कैद छुट पाउने भएका हुन्। उनी कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदैछन्।

कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने प्रावधान छ। सोही सुविधाका आधारमा उनको कैद अवधि संशोधन गरी रिहाइको प्रक्रिया अघि बढाइएको हो।