काठमाडौं । स्पेनको दोस्रो डिभिजनको फुटबल खेलका क्रममा गोलकिपरसँग ठोक्किएर गम्भीर घाइते भएका टेनेरिफका स्ट्राइकर जिसस डी मिगुएलको निधन भएको छ। ३० वर्षीय डी मिगुएलको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार एन्डोराविरुद्धको खेलमा गोलकिपर जिसस ओवोनोसँग जोडदार ठक्कर हुँदा डी मिगुएलको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। उक्त घटनामा फाउल गरेका गोलकिपरलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।

ADVERTISEMENT

घटनापछि डी मिगुएलको अवस्था ‘स्थिर तर गम्भीर’ रहेको बताइएको थियो। तर, मंगलबार बिहान उनको स्वास्थ्य अवस्था थप बिग्रिएपछि स्थानीय समयअनुसार बिहान ८ बजे निधन भएको हो।

ADVERTISEMENT

खेलाडीको निधनपछि क्लबले शोक वक्तव्य जारी गर्दै आफूहरू स्तब्ध भएको जनाएको छ। क्लबले डी मिगुएलको परिवार, आफन्त र समर्थकप्रति समवेदना व्यक्त गरेको छ।

क्लबले वक्तव्यमा भनेको छ, ‘हामीसँग सान्त्वना दिन कुनै शब्द छैनन्। यो भारी दुःख कम गर्न सक्ने केही छैन। यस कठिन घडीमा हामी उनको परिवार, नजिकका मानिसहरू र यो क्षति सामना गरिरहेका टेनेरिफका सबै व्यक्तिसँग छौँ।’