काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले १८ दिनपछि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। लामो समयसम्म मन्त्रिपरिषद् बैठक नबस्दा सरकारको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठेपछि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ३ बजे सिंहदरबारमा बस्नेछ। बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन।

ADVERTISEMENT

यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सातामा दुईपटक सोमबार र बिहीबार बस्दै आएको थियो। तर, बिचौलिया इनम सापकोटासँग उच्चपदस्थ व्यक्तिहरूको सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन।

ADVERTISEMENT

उक्त प्रकरण सार्वजनिक भएको १७ दिनसम्म पनि मन्त्रिपरिषद् बैठक नबस्दा सरकारको निर्णय प्रक्रिया र कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेका थिए। सर्वसाधारणदेखि विपक्षी दलका नेतासम्मले लामो समयसम्म बैठक नबस्नुको कारणबारे प्रश्न गरेका थिए।

सरकारका नियमित निर्णय, प्रशासनिक कामकारबाही तथा नीतिगत विषय प्रभावित हुन सक्ने भन्दै बैठक नबस्नुलाई लिएर चासो बढिरहेका बेला प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।