काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्‍याइएका आदित्य अहिले होसमा आएका छन्। उनलाई भेन्टिलेटरबाट समेत हटाइएको छ।

अस्पतालले उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार नोभेम्बर २ सम्म आदित्य भेन्टिलेटरको सहायताबिना आफैँ सास फेर्न र मुखबाट खाना खान सक्ने अवस्थामा पुगेका छन्। थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

ADVERTISEMENT

२०८३ कात्तिक १४ गते बिहान करिब १०ः३० बजे गोली लागेका आदित्यलाई करिब एक घण्टापछि नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्‍याइएको थियो। अस्पताल ल्याउँदा अत्यधिक रक्तस्रावका कारण उनको अवस्था अत्यन्तै नाजुक थियो। रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै नाडी कमजोर थियो। गोलीले पेटभित्रका आन्द्रामा व्यापक क्षति पुर्‍याएको थियो भने आन्द्राका केही भाग घाउबाट बाहिर निस्किएका थिए।

ADVERTISEMENT

तत्काल शल्यक्रिया नगरे ज्यान जाने जोखिम रहेको अवस्थामा अस्पतालको विशेषज्ञ टोलीले आकस्मिक शल्यक्रिया गरेको थियो।

विशेषज्ञ टोलीद्वारा जटिल शल्यक्रिया

पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाह सहभागी टोलीले शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, बाँकी भाग पुनः जोड्ने, आन्द्रामा परेका प्वाल मर्मत गर्ने तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउनेलगायतका जटिल प्रक्रिया पूरा गरिएको थियो। साथै, दाहिने ग्लुटियल क्षेत्रमा रहेको गोलीसमेत निकालिएको थियो।

शल्यक्रियापछि पनि आदित्यको अवस्था गम्भीर रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। आईसीयू इन्चार्ज डा. निरज केयाल र एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा उपचार अघि बढाइएको थियो।

अस्पतालका अनुसार रातको समयमा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। रक्तचाप र रक्तसञ्चार कायम राख्न तीन प्रकारका शक्तिशाली औषधि, भेन्टिलेटरको सहायता, चार युनिट रगत र दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा आवश्यक परेको थियो। चिकित्सक, नर्सिङ तथा प्राविधिक टोलीले चौबीसै घण्टा उनको निगरानी र उपचार गरेका थिए।

सम्पूर्ण उपचार निःशुल्क

नेशनल मेडिकल कलेजले आदित्यलाई अस्पतालमा रहँदासम्म उपलब्ध गराएका सम्पूर्ण उपचार सेवा निःशुल्क प्रदान गरेको जनाएको छ। आकस्मिक उपचार, जटिल शल्यक्रिया, आईसीयू सेवा, औषधि, रक्तसञ्चार, प्रयोगशाला परीक्षणलगायतका सेवाबापत परिवारसँग कुनै शुल्क नलिइएको अस्पतालको भनाइ छ।

अस्पताल प्रशासनले आर्थिक अवस्थाका कारण उपचारमा अवरोध नहोस् भन्ने उद्देश्यले सम्पूर्ण खर्च आफैँले व्यहोरेको जनाएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं स्थानान्तरण

आदित्यलाई थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना र सम्बन्धित सरकारी निकायसँग समन्वय गरेको थियो।

आफन्तको अनुरोधमा कात्तिक १५ गते बिहान ११ः३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज स्थानान्तरण गरिएको थियो।

स्थानान्तरणअघि अस्पतालले परिवारलाई उनको स्वास्थ्य अवस्था, थप उपचारको आवश्यकता र यात्राका क्रममा हुन सक्ने जोखिमबारे परामर्श दिएको जनाएको छ।

वीरगञ्जमा गरिएको आकस्मिक उपचार र जटिल शल्यक्रियापछि आदित्यको स्वास्थ्यमा आएको सुधारसँगै उनलाई थप उपचारका लागि काठमाडौं पुर्‍याइएको हो। अहिले उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्।