काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले कृत्रिम बुद्धिमत्ता (एआई) र भविष्यका प्रविधिलाई आर्थिक विकासको प्रमुख आधार बनाउने लक्ष्यसहित अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक गरेका छन्।

सोमबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै राष्ट्रपति लीले सन् २०२७ का लागि ८२०.९ ट्रिलियन वन (करिब ६१० अर्ब अमेरिकी डलर) बराबरको बजेट प्रस्ताव गरेका हुन्। यो अघिल्लो वर्षको तुलनामा १२.८ प्रतिशत बढी हो।

ADVERTISEMENT

उनले एआई र भविष्यका आर्थिक विकासका क्षेत्रहरूमा साहसिक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बजेटमा सेमिकन्डक्टर, भौतिक एआई र एआई डेटा सेन्टरका लागि २१.३ ट्रिलियन वन विनियोजन गरिएको छ। यो सन् २०२६ को तुलनामा झन्डै दोब्बर हो।

ADVERTISEMENT

त्यसैगरी, विश्वकै उच्च कार्यक्षमतासहितको आफ्नै एआई मोडल विकास गर्न सरकारले थप ४.७ ट्रिलियन वन लगानी गर्ने योजना बनाएको छ। प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिँदै सेमिकन्डक्टर डिजाइन र क्षेत्रीय सेमिकन्डक्टर उद्योगको नेतृत्व गर्न सक्ने २ हजार विशेषज्ञ तयार पार्ने लक्ष्य पनि बजेटमा समेटिएको छ।

सरकारले विद्यार्थी, रोजगारी खोजिरहेका युवा तथा कार्यरत जनशक्तिका लागि एआईसम्बन्धी शिक्षा र तालिम विस्तार गर्ने योजना बनाएको छ। यसअघि दक्षिण कोरियाले सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता कम्पनीसँग सहकार्य गरी विश्वविद्यालयमा कम्पनीसँग सम्बन्धित विशेष शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रममा कम्पनीहरूले पाठ्यक्रम निर्माण, आर्थिक सहयोग र योग्य विद्यार्थीलाई रोजगारीको अवसर उपलब्ध गराउँछन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा दक्षिण कोरियाको अर्थतन्त्र ३.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। यो कोभिड महामारीपछिको पुनरुत्थान वर्ष सन् २०२१ यताकै उच्च आर्थिक वृद्धिदर हुने अनुमान हो।

राष्ट्रपति लीले बजेट विस्तार भए पनि सरकारी ऋणमा खासै शुद्ध वृद्धि नहुने दाबी गरेका छन्। उनका अनुसार नयाँ ऋणपत्र जारी गरेर पुराना ऋणको भुक्तानी गरिनेछ।

बजेटमा रक्षा र युवासम्बन्धी सामाजिक सुरक्षा खर्चसमेत बढाइएको छ। रक्षा बजेट ८.२ प्रतिशतले वृद्धि गरी ७३.३ ट्रिलियन वन पुर्‍याउने प्रस्ताव गरिएको छ। एआई, रोबोट र ड्रोनमा आधारित मानवसहित तथा मानवरहित सैन्य प्रणाली विकास गरी आधुनिक र शक्तिशाली सेना निर्माण गर्ने लक्ष्य पनि राष्ट्रपति लीले प्रस्तुत गरेका छन्।

दक्षिण कोरियाको आर्थिक वृद्धिमा सेमिकन्डक्टर निर्यातको महत्वपूर्ण योगदान रहँदै आएको छ। विश्वभर एआई र कम्प्युटिङ क्षमताको माग बढेसँगै त्यहाँका प्रविधि कम्पनीहरूले उल्लेख्य लाभ लिइरहेका छन्।

कोरिया भन्सार सेवाले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा दक्षिण कोरियाको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९३.७ प्रतिशतले बढेर कीर्तिमानी ११५.३ अर्ब अमेरिकी डलर पुगेको छ। जनवरीदेखि अक्टोबरसम्मको कुल निर्यात ९३० अर्ब डलर पुगेको छ, जुन पहिलोपटक ९०० अर्ब डलरभन्दा माथि हो।

अक्टोबरमा देशले ४२.५ अर्ब डलरको व्यापार बचत गरेको छ। सो अवधिमा आयात पनि ३६ प्रतिशतले बढेर ७२.८ अर्ब डलर पुगेको छ।

राष्ट्रपति लीले सेमिकन्डक्टरलगायत प्रमुख उद्योगको बलियो प्रदर्शनका कारण दक्षिण कोरिया वार्षिक एक ट्रिलियन अमेरिकी डलर निर्यातको लक्ष्य नजिक पुगेको बताएका छन्।