काठमाडौं । टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले देशका १४ स्थानमा प्राविधिक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।

नेपालका लागि टाटा कमर्शियल भेहिकल्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा ‘टाटा गुरु टेक्निकल ट्रेनिङ कार्यक्रम’ सुरु भएको हो। कार्तिक १५ देखि २० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना गरिनेछ।

ADVERTISEMENT

कार्यक्रमअन्तर्गत हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सारटाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ–घोराही र वीरगञ्जमा प्रशिक्षण सञ्चालन हुनेछ।

ADVERTISEMENT

तालिममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई लक्षित गरी आधुनिक सवारी प्रविधि र बीएस–६ (भारत स्टेज–६) प्रविधिसम्बन्धी प्राविधिक ज्ञान तथा सीप प्रदान गरिनेछ।

प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीबारे जानकारी दिइनेछ। साथै, बीएस–६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे समेत प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

त्यसैगरी, सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत डीपीएफ तथा एससीआर सिस्टमको परिचय, विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणाली, सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोग गरी प्राविधिक समस्या पहिचान र समाधान गर्ने विषय पनि तालिममा समेटिएका छन्।

यस प्रशिक्षण कार्यक्रमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिलाई नवीनतम सवारी प्रविधिसँग परिचित गराउँदै उनीहरूको समस्या समाधान गर्ने क्षमता र व्यावसायिक दक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्राविधिक जनशक्तिको क्षमता विकास, आधुनिक सवारी प्रविधिसम्बन्धी ज्ञान विस्तार तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका हुन्।