काठमाडौं । सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको फूलकोर्ट बैठक अझै जारी छ । सबै न्यायाधीश सहभागी बैठक चलिरहेकाले पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा प्रवेश गरेका छैनन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार बैठक कम्तीमा खाजा खाने समयसम्म लम्बिने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फूयालबीचको ह्वाट्सएप सन्देशसहितका विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको फूलकोर्ट बैठकमा यस विषयमा छलफल सुरु भएको हो । सार्वजनिक भएका विवरणपछि प्रधानन्यायाधीश डा. शर्माले समसामयिक विषयमा छलफल गर्न सोमबार बिहान फूलकोर्ट बैठक बोलाएका थिए ।
फूलकोर्टमा सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुन्छन् । बैठकमा अदालतसँग सम्बन्धित महत्वपूर्ण विषयमा सामूहिक छलफल तथा निर्णय गरिन्छ ।
यसैबीच, सार्वजनिक भएका दुई थरी सन्देशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि महाभियोग प्रस्तावका विषयमा छलफल गरेको थियो । रास्वपाले यसबारे निर्णय गर्ने जिम्मेवारी आफ्नो संसदीय दललाई दिएको छ ।
सर्वोच्च अदालतको फूलकोर्ट बैठकपछि न्यायाधीशहरू इजलासमा प्रवेश गर्ने र नियमित सुनुवाइ अघि बढ्ने अपेक्षा गरिएको छ ।









