काठमाडौं । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले कुनै पनि राजनीतिक दलको सदस्य नबनेकै कारण आफू विभिन्न अवसरबाट वञ्चित हुनुपरेको बताएका छन् । उनले नेपालमा योग्यता र क्षमताभन्दा राजनीतिक आबद्धताका आधारमा अवसर पाउने प्रवृत्ति रहेको टिप्पणी गरेका हुन् ।
आइतबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै केसीले यस्तो धारणा राखेका हुन् । ‘सीमापार साहित्यको उत्सव’ भन्ने नारासहित आयोजित कार्यक्रममा उनले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताए ।
‘लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्छ । साहित्य सिर्जनामा मात्रै सीमित हुनुहुँदैन, यसले समाज र राष्ट्रको रूपान्तरणमा पनि योगदान दिन सक्नुपर्छ,’ उनले भने ।
केसीले नेपालमा सीमित व्यक्तिहरूले पटक–पटक पद र अवसर पाउने तर योग्य हुँदाहुँदै पनि अन्य व्यक्तिले अवसर नपाउने प्रवृत्ति रहेको बताए । आफूले २७–२८ वटा पुस्तक लेखेको, विद्यावारिधि गरेको, चार हजारभन्दा बढी लेख तथा रचना प्रकाशित गरेको र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएको उल्लेख गर्दै उनले राजनीतिक दलको सदस्य नहुनुलाई आफ्नो ठूलो कमजोरीका रूपमा व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरे ।
‘नेपालमा एउटा रेडिमेड परम्परा छ, एउटै व्यक्ति पटक–पटक विभिन्न पद र अवसरमा पुग्ने, अरूले अवसर नै नपाउने । योग्यताका आधारमा अवसर पाउने संस्कार हामीले विकास गर्नुपर्छ,’ उनले भने, ‘तर मेरो सबैभन्दा ठूलो गल्ती भनेको कुनै पनि राजनीतिक दलको सदस्य नहुनु रहेछ । मेरो अभिव्यक्ति, लेखन र पहिचानको मूल आधार नै स्वतन्त्रता हो ।’
उनले पुरस्कार, सम्मान तथा अवसर वितरण गर्दा निष्पक्षता र योग्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । योग्य व्यक्तिलाई उचित स्थान दिइए समाजले स्वतः सम्मान गर्ने उनको भनाइ थियो ।
केसीले गौतम बुद्धको शान्ति र सहअस्तित्वको दर्शन स्मरण गर्दै वर्तमान समाजमा शान्ति, सहिष्णुता र सद्भाव आवश्यक रहेको बताए । न्याय, प्रहरी, राजनीति तथा अन्य सार्वजनिक संस्थाप्रति नागरिकको असन्तुष्टि बढिरहेको उल्लेख गर्दै उनले यस्ता विषय साहित्य र लेखनमा पनि प्रतिबिम्बित हुनुपर्ने धारणा राखे ।
इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्का तथा उनको टोलीको नेतृत्वमा आयोजित कार्यक्रममा नेपालसहित भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्सबाट ४५ जना लेखक तथा सम्मानित व्यक्तित्व सहभागी छन् । कार्यक्रममा विभिन्न विधामा अवार्डसमेत वितरण गरिएको छ ।









