काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंगसबीचको खेल शनिबार (कात्तिक १४) पाँच ओभरको हुने भएको छ ।
शनिबार बिहान परेको निरन्तर वर्षाका कारणल खेलमा १५ ओभर घटाउँदै पाँच ओभरमा छोट्ट्याइएको हो । पूर्वनिर्धारित तालिकाअनुसार खेल बेलुका ५ बजे सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान भिजेपछि खेल ढिला सुरु गर्न लागिएको हो ।
अब खेलको टस बेलुका ७ः२५ बजे गरिनेछ । आजै बिहानका निम्ति तय लुम्बिनी लायन्स र चितवनबीचविरुद्धको खेल पनि वर्षाका कारण रद्द भएको थियो । खेलमा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ ।
टोली हाल दुई खेल खेल्दा समान एक जित र हार व्यहोर्दै पाँचौँ स्थानमा छ । टोलीले लुम्बिनीसँग पहिलो खेल हार्दा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो । विराटनगर भने पहिलो जितको खोजीमा छ ।
टोलीले दुई खेल खेलिसक्दा पनि अंक जोड्न सकेको छैन । टोलीले पहिलो खेलमा चितवनसँग हार व्यहोरेको थियो । कात्तिक १२ गते भएको खेलमा कर्णाली याक्ससँग चार विकेटको पराजय भोगेको थियो ।










