काठमाडौं ।गुगलले सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पहिचान गर्ने, तिनको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा केन्द्रित नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ मोडललाई जटिल सफ्टवेयर इन्जिनियरिङ तथा साइबर सुरक्षा परीक्षणका काममा उपयोग गर्न सकिनेछ।

गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। कम्पनीले सुरुमा साइबर सुरक्षा क्षेत्रमा काम गर्ने सीमित विज्ञ तथा संस्थालाई यो मोडल उपलब्ध गराउने योजना बनाएको छ। त्यसपछि ‘फेयरविन्ड प्रोग्राम’ मार्फत विश्वसनीय साझेदारलाई पहुँच दिइने जनाइएको छ।

ADVERTISEMENT

गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सामाजिक सञ्जाल एक्समार्फत नयाँ मोडल सार्वजनिक भएको जानकारी दिएका छन्। गुगलले आफ्ना एआई मोडल नियमित रूपमा सार्वजनिक गर्ने योजनाअन्तर्गत कार्बन ल्याइएको उनको भनाइ छ।

ADVERTISEMENT

गुगल डीपमाइन्डका अनुसार यसअघिको ‘जेमिनाइ ४ आर्गन’ सार्वजनिक भएको दुई सातापछि आएको कार्बनलाई लामो समयसम्म चल्ने जटिल इन्जिनियरिङ कार्य सम्पन्न गर्न सक्षम बनाइएको छ। यसले ठूला सफ्टवेयर कोड संरचना र कम्प्युटर प्रणालीका तल्लो तहमा रहेका त्रुटिको मूल कारण पत्ता लगाउन तथा समाधान विकास गर्न सहयोग गर्न सक्छ।

गुगलका अनुसार सफ्टवेयर सुरक्षा कमजोरी पहिचान गर्ने एसईसी–बेन्च प्रो परीक्षणमा कार्बनले ८८.२ प्रतिशत अंक प्राप्त गरेको छ। त्यस्तै, सुरक्षा कमजोरीको दुरुपयोग सम्भव छ वा छैन भनेर परीक्षण गर्ने एक्सप्लोइटजिममा ५४.८ प्रतिशत र कमजोरी समाधान गर्ने क्षमता मापन गर्ने सीडब्ल्यूई–बेन्चमा ७१ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ।

आन्तरिक परीक्षणमा सुरक्षित कोड निर्माण गर्ने क्षमतामा कार्बनले आर्गनको तुलनामा दोब्बरभन्दा बढी सफलता हासिल गरेको गुगलको दाबी छ। गुगलको क्रोम टोलीका अनुसार उच्च गुणस्तरका सफ्टवेयर सुधारसम्बन्धी कोड तयार गर्ने परीक्षणमा कार्बनले अर्को एआई प्रयोगशालाको अग्रणी मोडलको तुलनामा १० गुणाभन्दा बढी राम्रो प्रदर्शन गरेको छ।

एआई मोडलहरूको क्षमता बढ्दै जाँदा तिनको विश्वसनीयता र सुरक्षा सुनिश्चित गर्न पनि विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ। गुगलका अनुसार आन्तरिक परीक्षणमा आर्गनको तुलनामा प्रमाणविहीन दाबी करिब आधाले घटेको छ भने कोडिङ वातावरणमा गम्भीर सुरक्षा तथा व्यवहारगत जोखिमसम्बन्धी चेतावनी झन्डै ८० प्रतिशतले घटेको छ।

त्यस्तै, टर्मिनल–बेन्च ४.० परीक्षणमा अनुचित तरिकाले सफलता हासिल गर्ने दर शून्यमा झरेको र त्यस्तो प्रयासको दर ०.४ प्रतिशतमा सीमित भएको कम्पनीको भनाइ छ। ग्रे स्वानको अप्रत्यक्ष प्रम्प्ट इन्जेक्सन परीक्षणमा मूल्यांकन गरिएका परीक्षणहरूमा आक्रमण सफल हुने दर शून्य प्रतिशत रहेको पनि गुगलले दाबी गरेको छ।

गुगलले कार्बनलाई सुरुमा सीमित साइबर सुरक्षा विज्ञ तथा विश्वसनीय साझेदारलाई उपलब्ध गराएर प्रतिक्रिया संकलन गर्ने र सुरक्षा व्यवस्था थप मजबुत बनाउने योजना बनाएको छ। त्यसपछि डेभलपर, व्यावसायिक संस्था र सर्वसाधारणका लागि पहुँच विस्तार गरिने कम्पनीले जनाएको छ।

नयाँ मोडलको प्रारम्भिक मूल्य यसअघिको जेमिनाइ ४ आर्गनकै बराबर राखिएको विवरणमा उल्लेख छ। प्रति १० लाख इनपुट टोकनको मूल्य दुई अमेरिकी डलर र प्रति १० लाख आउटपुट टोकनको मूल्य १० अमेरिकी डलर तोकिएको छ। क्यास गरिएका इनपुट टोकनमा भने ९५ प्रतिशत छुट दिइने जनाइएको छ।

साइबर सुरक्षा परीक्षण, सफ्टवेयर विकास र त्रुटि समाधानमा एआईको प्रयोग बढिरहेका बेला कार्बनलाई चरणबद्ध रूपमा उपलब्ध गराउने गुगलको योजना सार्वजनिक भएको हो। यद्यपि, मोडलको वास्तविक प्रभावकारिता, सुरक्षा र विभिन्न क्षेत्रमा यसको उपयोगिताको मूल्यांकनका लागि कम्पनीका दाबीबाहेक स्वतन्त्र परीक्षणका नतिजा पनि महत्वपूर्ण हुनेछन्।