काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच १० औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।

कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुवै देशका सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धिका विषयमा छलफल भइरहेको छ।

ADVERTISEMENT

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्। बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू सहभागी छन्।

ADVERTISEMENT

बैठकमा सीमाक्षेत्रमा हुने अवैध गतिविधि, मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियारको ओसारपसार नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै, दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार, सीमापार अपराध नियन्त्रण र महामारी तथा विपद्को जोखिम न्यूनीकरणका लागि सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषय पनि बैठकको प्राथमिकतामा छन्।

नेपाल–भारत खुला सीमाबाट तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रण, सीमा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, दुवै सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा संयुक्त सहकार्यबारे समेत छलफल हुने जनाइएको छ।

सीमा नाकामा यात्रुलाई सहज बनाउन सहायता कक्ष स्थापना गर्ने तथा सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ गर्न मैत्रीपूर्ण खेलकुदलगायतका गतिविधि सञ्चालन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छन्।

बैठकले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।