काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्ले नदी प्रणाली हुँदै तल्लो तटीय क्षेत्र र सीमापारसम्म असर पार्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्नुपर्ने बताएका छन्।

थाइल्याण्डको बैंककमा बुधबारदेखि सुरु भएको ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले भूउपग्रह प्रविधि, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ताको प्रयोग विस्तार गरी विपद् पूर्वतयारी तथा जोखिम व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने बताए।

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) र थाइल्याण्ड सरकारको संयुक्त आयोजनामा अक्टोबर २८ देखि २९ सम्म सञ्चालन भइरहेको सम्मेलनमा मन्त्री श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले उद्घाटन सत्र र विषयगत छलफलमा समेत सम्बोधन गरेका थिए।

ADVERTISEMENT

सम्बोधनका क्रममा श्रेष्ठले हालैका भोटेकोशी–त्रिशूली तथा बूढीगण्डकी विपद्बाट भएको जनधनको क्षति र नेपालले सामना गरिरहेका राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका चुनौतीबारे जानकारी गराए।

विपद्का समयमा प्राप्त सहयोग र ऐक्यबद्धताका लागि मित्रराष्ट्र, क्षेत्रीय संस्था तथा विकास साझेदारलाई धन्यवाद दिँदै उनले भोटेकोशी विपद्को कारण पहिचान र विश्लेषणमा सहयोग पुग्ने गरी समयमै भूउपग्रहका तस्बिर तथा प्राविधिक सूचना उपलब्ध गराएकोमा इस्क्यापप्रति आभार व्यक्त गरे।

हिमनदी, हिमताल, अस्थिर भिरालो भूभाग र नदी प्रणालीको नियमित अनुगमन गर्नुपर्नेमा जोड दिँदै उनले जोखिमसम्बन्धी सूचना समयमै आदानप्रदान गर्ने तथा समुदायसम्म पुग्ने बहुप्रकोपी पूर्वसूचना प्रणाली विकास गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए।

सुरक्षित जलविद्युत् विकास, जलस्रोत व्यवस्थापन र जोखिममा आधारित विकास योजना अघि बढाउन भूउपग्रहबाट प्राप्त सूचना तथा आधुनिक प्रविधिको उपयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

यसका लागि प्राविधिक सहकार्य, संयुक्त अनुसन्धान र राष्ट्रिय क्षमता अभिवृद्धिमा जोड दिँदै उनले हिमालदेखि समुद्रसम्म फैलिने अन्तरसम्बन्धित विपद् जोखिम सामना गर्न साझा प्रयास आवश्यक रहेको बताए।

चार उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता

सम्मेलनका अवसरमा मन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा इस्क्यापकी कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिस्याहबाना, थाइल्याण्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री योड्चनन वोङ्सावात, भुटानका परराष्ट्रमन्त्री दिना नाथ ढुङ्ग्याल र श्रीलंकाका स्वास्थ्य तथा आमसञ्चारमन्त्री डा. नलिन्दा जयतिस्सासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

भेटवार्तामा आपसी हित र साझा चासोका विषयमा छलफल भएको थियो। मन्त्री श्रेष्ठले नेपालमा विपद्पश्चात् प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे। विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।

भोटेकोशी–त्रिशूली विपद्बाट सिकिएका पाठबारे क्षेत्रीय संवाद

सम्मेलनको दोस्रो दिन बिहीबार नेपाल सरकार र इस्क्यापको संयुक्त आयोजनामा ‘सगरमाथादेखि समुद्रसम्म : एसिया तथा प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद्प्रतिको उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट सिकिएका पाठ’ विषयक उच्चस्तरीय क्षेत्रीय संवाद आयोजना हुँदै छ। उक्त संवादलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।

संवादले हिमालदेखि समुद्रसम्मका अन्तरसम्बन्धित विपद् जोखिमबारे साझा बुझाइ विकास गर्नुका साथै सूचना आदानप्रदान, नियमित अनुगमन, पूर्वसूचना प्रणाली तथा जोखिममा आधारित योजना र लगानीमा क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यसैगरी, बिहीबार दिउँसो नेपाली राजदूतावास र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) को संयुक्त आयोजनामा हुने ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक संगोष्ठीमा मन्त्री श्रेष्ठ प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

संगोष्ठीमा नेपालको उत्थानशील पुनर्स्थापना तथा पुनर्निर्माणका आवश्यकता र चुनौती तथा तिनको सम्बोधनमा विज्ञान, प्रविधि र साझेदारीको भूमिकाबारे छलफल हुनेछ।