काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि ल्याएको यस योजनाअन्तर्गत ग्राहकले ४.८८ प्रतिशत ब्याजदरबाटै घर कर्जा लिन सक्नेछन्।
बैंकका अनुसार घर खरिद, नयाँ घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि यो कर्जा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। आधार दरमा ०.५ प्रतिशत प्रिमियम थप हुने व्यवस्था रहेको बैंकले जनाएको छ।
योजनाअन्तर्गत घर कर्जामा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। कर्जा लिने ग्राहकले पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा पनि पाउनेछन्।
त्यस्तै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ। यसबाट घर कर्जा लिने ग्राहकलाई ब्याजदरमा सहुलियतसँगै अतिरिक्त बैंकिङ सुविधा पनि प्राप्त हुनेछ।
नेपाल बैंकका देशभर रहेका २३० वटै शाखाबाट यो कर्जा लिन सकिनेछ। बैंकले योजना २०८३ कात्तिक १५ देखि २०८३ माघ १५ गतेसम्म, जम्मा ९० दिनका लागि लागू हुने जनाएको छ।
नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। वार्षिकोत्सवको अवसरमा ल्याइएको यो योजनाले घर खरिद तथा निर्माणका लागि कर्जा लिन चाहने ग्राहकलाई सहुलियत उपलब्ध गराउने बैंकको अपेक्षा छ।








