काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालका जलाशययुक्त जलविद्युत् आयोजना विकास गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई लगानी, प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि आह्वान गरेका छन्।

क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा ट्रेड सो–२०२६ मा सहभागी हुन क्यानडा पुगेका डाँगीले नेपालमा सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने जलविद्युत् आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको बताएका हुन्।

ADVERTISEMENT

उनले बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा क्यानडासँग रहेको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने बताए। नेपालको जलविद्युत् सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजारले दुवै देशका लागि दीर्घकालीन तथा पारस्परिक लाभदायक साझेदारीको अवसर सिर्जना गर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

डाँगीका अनुसार नेपालको विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको छ। यसमध्ये ८० प्रतिशतभन्दा बढी क्षमता निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान रहेको उनले बताए।

जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा गरेको आकलन तथा अन्य अध्ययनलाई उद्धृत गर्दै उनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको उल्लेख गरे। रन अफ रिभर, पिकिङ रन अफ रिभर, जलाशययुक्त र पम्प्ड स्टोरेज आयोजना विकास गरेर नेपाल दक्षिण एसियाको स्वच्छ ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उनले बताए।

नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै डाँगीले त्यसका लागि हालको क्षमताभन्दा थप २४ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता विकास गर्नुपर्ने बताए। यसमा निजी क्षेत्रको लगानी महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

उनले उत्पादन आयोजना, प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधार विकाससँगै छिमेकी मुलुकमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने नेपालको लक्ष्यबारे पनि जानकारी गराए।

अन्तर्राष्ट्रिय लगानी र सहकार्यका लागि उनले तमोर जलाशययुक्त आयोजना (७६२ मेगावाट), दूधकोशी जलाशययुक्त आयोजना (६७० मेगावाट), बूढीगण्डकी जलाशययुक्त आयोजना (१२०० मेगावाट) र माथिल्लो अरुण आयोजना (१०६० मेगावाट) लगायतलाई महत्त्वपूर्ण सम्भावनाका रूपमा प्रस्तुत गरे।

यी आयोजनामा आयोजना वित्त व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण र आधुनिक प्रविधिको प्रयोगमा अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए। अनुसन्धान, व्यावसायिक तालिम र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणमा समेत सहकार्य गर्न उनले अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र प्राविधिक विज्ञलाई आग्रह गरे।

नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गर्दै डाँगीले जलविद्युत्ले आर्थिक वृद्धि, रोजगारी सिर्जना र स्वच्छ ऊर्जा व्यापार विस्तारमा योगदान पुर्‍याइरहेको बताए।

क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् परिवर्तनका लहरहरू भन्ने मूल विषयमा आयोजना गरेको सम्मेलनले ज्ञान, अनुभव र प्रविधि आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। बाँध सुरक्षा, जलवायु उत्थानशीलता र दिगो जलविद्युत् विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताए।

कार्यक्रममा इप्पानका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, भोटेकोशी बाढीबाट प्राप्त पाठ र अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।