बागलुङ । अजङ्गको भीरबीच फलामका लट्ठाले बनेको अग्लो पुल, तल गहिरो कालीगण्डकी नदी र पुलबाट हाम फाल्दै बञ्जी गर्ने पर्यटक। देख्दै आङ सिरिङ्ग हुने यो दृश्य अहिले बागलुङ र पर्वत जोड्ने कुश्मास्थित बञ्जीको मुख्य आकर्षण बनेको छ।

दसैँको बिदासँगै यहाँ आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ। बञ्जी, स्विङ, स्काइ साइक्लिङ, मेघा ट्रोल र रिसोर्टसहितको साहसिक पर्यटन पूर्वाधारले यस क्षेत्रलाई पर्यटकको रोजाइमा पार्दै लगेको छ।

ADVERTISEMENT

द क्लिफ प्रालिका म्यानेजर सफल थापाका अनुसार पछिल्लो समय दैनिक करिब ३०० पर्यटक यहाँ आउने गरेका छन्। बञ्जी गर्ने क्षमता भने दैनिक ५० जनासम्मको रहेकाले पर्यटकको चाप बढ्दा पालोअनुसार सेवा दिनुपर्ने अवस्था छ।

ADVERTISEMENT

उनका अनुसार नेपाली पर्यटकसँगै भारत, बङ्गलादेश र युरोपका विभिन्न देशबाट आउने पर्यटकको संख्या उल्लेख्य छ। बञ्जी र अन्य साहसिक गतिविधिसँगै रिसोर्टमा रात बिताउन आउने पर्यटकको संख्या पनि बढेको उनले बताए।

९० करोडभन्दा बढी लगानी

कालीगण्डकी नदीमाथि निर्माण गरिएको यो बञ्जी सन् २०२० नोभेम्बर अर्थात् २०७७ कात्तिकदेखि सञ्चालनमा आएको हो। द क्लिफ प्रालिले बञ्जीसँगै स्विङ, स्काइ साइक्लिङ, मेघा ट्रोल र रिसोर्टजस्ता संरचनामा हालसम्म ९० करोड रुपैयाँभन्दा बढी लगानी गरेको म्यानेजर थापाले जानकारी दिए।

बञ्जीका लागि पुल निर्माण सन् २०१६ अर्थात् २०७३ सालदेखि सुरु गरिएको थियो। सन् २०१९ अर्थात् २०७६ सालसम्म रिसोर्ट निर्माणसमेत सम्पन्न भएको थियो।

कम्पनीका अनुसार पुल ५२५ मिटर लामो र कालीगण्डकी नदीको सतहबाट २२८ मिटर अग्लो छ। कम्पनीले यसलाई विश्वकै दोस्रो अग्लो बञ्जी र स्विङलाई विश्वकै अग्लोमध्ये एकका रूपमा प्रचार गर्दै आएको छ।

डरलाई जित्ने रोमाञ्च

यहाँ बञ्जी गर्नेमा युवादेखि वृद्ध उमेरसम्मका पर्यटक छन्। कतिपयले एकपटकको अनुभवमै चित्त बुझाउँछन् भने कतिपय फेरि हाम फाल्ने रहर बोकेर फर्किन्छन्।

मुक्तिनाथ दर्शन गरेर फर्किएका दक्षिण भारतका भरत दासले आफूले अहिलेसम्म यति अग्लो बञ्जी नदेखेको बताए। उनले बञ्जी गर्न आँट नगरे पनि अरूले हाम फालेको दृश्य रोमाञ्चक लागेको सुनाए।

त्यस्तै, काठमाडौंको बौद्धबाट घुम्न आएका राजु नगरकोटीले सुरुमा डर लागे पनि बञ्जी गरेपछि निकै रमाइलो अनुभव भएको बताए। ढोरपाटनबाट फर्किएर यहाँ आएका उनले फेरि एकपटक बञ्जी गर्ने इच्छा जागेको सुनाए।

बञ्जी पुलले बागलुङ र पर्वतलाई जोड्नुका साथै आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन सहयोग गरेको छ। साहसिक खेल, आवास र मनोरञ्जनका सुविधा एकै ठाउँमा उपलब्ध हुँदा कुश्मा र बलेवा क्षेत्रको पर्यटन व्यवसायले थप गति लिने अपेक्षा गरिएको छ।