काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

ADVERTISEMENT

महाशाखाका अनुसार बिहान तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागे पनि अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान छ।

ADVERTISEMENT

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

भोलि पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।