काठमाडौँ । चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। मन्त्रालयले शोकसन्तप्त परिवार तथा चीन सरकारप्रति समवेदना प्रकट गरेको हो।
मन्त्रालयका अनुसार बिहीबार गएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। भूकम्पले सम्पत्ति तथा पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ।
नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायको उद्धार, पुनःस्थापना र पुनर्निर्माणका काम छिटो अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
यस कठिन परिस्थितिमा नेपालले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गरेको छ।










