काठमाडौँ । बाढी र पहिरोका कारण म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको विवरणअनुसार केही सडक एकतर्फी सञ्चालनमा छन् भने केही खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो जाँदा कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गत सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध भएको छ। उक्त पुल अवरुद्ध हुँदा गोरखा–आरुघाट–धादिङ जोड्ने सडक खण्डमा आवागमन पूर्ण रूपमा बन्द भएको छ।
आरुघाट गाउँपालिकाको नयाँपुल क्षेत्रमा भने साना सवारीसाधन मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन र पहिरो पन्छाउन आवश्यक काम भइरहेको छ। सडकको अवस्था प्रतिकूल रहेकाले सम्बन्धित क्षेत्रमा यात्रा गर्ने यात्रु तथा सवारीचालकले सावधानी अपनाउनुपर्ने देखिएको छ।










