काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन्।
चीनको हेबेई प्रान्तस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनको मूल विषय ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ रहेको छ। भण्डारीले सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना हुनेछन्।
फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, शान्ति स्थापना कार्यमा आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिकाबारे छलफल हुनेछ।
त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिका, जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता (एआई) र साइबर स्पेसलगायतका विषय पनि छलफलमा समेटिनेछन्।
पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।










